नेपालका गाउँघर, खेतका डिल, कान्ला, खोलाखोल्सी र वनपाखामा बिभिन्न प्रजातिका बाँस पाईन्छन । हामीले लामो समयदेखि बाँसलाई मुख्यत: घरायसी उपयोग र हस्तकलाको सामग्रीका रूपमा मात्र प्रयोग गर्दै आएका छौँ । डोको, नाङ्लो, डालो, मुडा, टोकरी, सजावटी सामग्री वा साना स्मारिकामा बाँसको प्रयोग हुनु हुनु आफैँमा गलत होइन । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब यति बहुउपयोगी प्राकृतिक स्रोतको सम्भावनालाई हस्तकला र घरायसी उपयोगमै सीमित गरिन्छ ।
नेपाललाई अर्को बाँसको हस्तकला मात्र होइन, बाँसमा आधारित औद्योगिक अर्थतन्त्र चाहिएको छ । बाँस केवल एउटा डाँठ होइन; यो बहुउपयोगी औद्योगिक कच्चा पदार्थ हो । उचित प्रजाति छनोट, उत्पादन, प्रशोधन र प्रविधिको प्रयोग गर्न सके बाँसबाट निर्माण सामग्री, ल्यामिनेटेड बोर्ड, बीम, फ्लोरिङ, फर्निचर, प्याकेजिङ सामग्री, फाइबर, कम्पोजिट, कागज, बायोमास, पेलेट, ब्रिकेट, बायोचार तथा अन्य आर्थिक मूल्य अभिवृद्धि भएका उत्पादन बनाउन सकिन्छ ।
यसको अर्थ बाँस बेच्ने होइन, बाँसबाट मूल्य सिर्जना गर्ने हो । नेपालमा बाँस खेती विस्तारका लागि जमिनको ठूलो सम्भावना छ । तर केवल बिरुवा रोपेर मात्र बाँसको व्यावसायिक भविष्य सुनिश्चित हुँदैन । कुन भूगोलमा कुन प्रजाति उपयुक्त हुन्छ, कहाँ नर्सरी स्थापना गर्ने, कसरी गुणस्तरीय बिरुवा उत्पादन गर्ने, उत्पादनलाई कसरी संकलन र ग्रेडिङ गर्ने, कसरी प्रशोधन तथा भण्डारण गर्ने र तयार उत्पादनको बजार कहाँ बनाउने भन्ने विषयलाई एउटै औद्योगिक शृङ्खलामा जोड्नुपर्छ ।
किसानले एउटा बाँसको डाँठ न्यून मूल्यमा बेच्ने र त्यसैबाट बनेको बोर्ड, फर्निचर, कम्पोजिट वा अन्य औद्योगिक उत्पादनले धेरै बढि मूल्य प्राप्त गर्ने अवस्था परिवर्तन गर्न आवश्यक छ । मूल्य अभिवृद्धिको ठूलो हिस्सा बाँस उत्पादन हुने ग्रामीण क्षेत्रमै सिर्जना गर्न सकियो भने त्यसले किसानको आम्दानीसँगै स्थानीय रोजगारी र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सक्छ ।
यसका लागि नेपालमा प्रमाणित नर्सरी, प्रजातिअनुसार व्यावसायिक बाँस बगान, संकलन केन्द्र, उपचार तथा सुकाउने केन्द्र, गुणस्तर मापन तथा ग्रेडिङ प्रणाली, अनुसन्धान प्रयोगशाला, प्रशोधन उद्योग, फाइबर तथा कम्पोजिट उद्योग र बजार व्यवस्थापन प्रणाली आवश्यक छन् ।
बाँसलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने अर्को महत्वपूर्ण कारण पनि छ । बाँसको उत्पादन, प्रशोधन र मूल्य अभिवृद्धिलाई दिगो ढङ्गले अघि बढाउन सकियो भने यसले काठका केही उत्पादनको विकल्प, ग्रामीण रोजगारीको स्रोत र जैविक कार्बन भण्डारणसँग सम्बन्धित अवसर सिर्जना गर्न सक्छ ।
अब प्रश्न “नेपालमा बाँसबाट के बनाउन सकिन्छ ?” भन्ने मात्र होइन । प्रश्न हुनुपर्छ—“बाँसले नेपालका कति उद्योगलाई कच्चा पदार्थ दिन सक्छ ?” कृषक, अनुसन्धानकर्ता, निजी क्षेत्र, सहकारी, स्थानीय तह र सरकारबीच सहकार्य गरेर बाँसको उत्पादनदेखि प्रशोधन र बजारसम्मको संरचना निर्माण गर्न सके नेपालमा बाँस एउटा सामान्य वनस्पतिबाट हरित औद्योगिक अर्थतन्त्रको आधार बन्न सक्छ ।
त्यसैले अब बाँसलाई केवल डोको, नाङ्लो र सजावटी वस्तुसम्म सीमित नगरौँ । बाँस रोपौँ, प्रशोधन गरौँ, मूल्य अभिवृद्धि गरौँ र उद्योगसँग जोडौँ । किनकि बाँसको वास्तविक शक्ति यसको एउटा डाँठमा होइन, त्यसलाई बुद्धिमत्तापूर्वक रूपान्तरण गर्दै रोजगारी, आय, उद्योग र समृद्धिमा बदल्न सकिने क्षमतामा छ ।
प्रतिक्रियाहरू 0